नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी

नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

जनताको जलविद्युत कार्यक्रम

जनताको जलविद्युत कार्यक्रम

कार्यक्रमको परिचय

नेपालमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना हुँदाहुँदै पनि त्यस क्षेत्रको विकासमा राज्यले सन्तोषजनक उपलब्धि हासिल गर्न नसकिरहेको कुरा हामी सबैले आत्मसात् गर्नैपर्दछ। यसैको कारण आन्तरिक खपत सबै हरित ऊर्जा (Green Energy) बाट पुरागरी स्वच्छ र प्रदुषण मुक्त जीवनयापनको फाईदा उठाउने र प्रशस्त हरित ऊर्जा (Green Energy)अन्तराष्ट्रिय बजारमा निर्यात गरी विकसित राष्ट्रको दिशामा अगाडि बढ्नु पर्ने देश आफ्नो आन्तरिक खपतको ९६% उर्जा पेट्रोलियम पदार्थ तथा अन्य श्रोतहरुबाट उत्पादित उर्जामा निर्भर हुनु परेको छ र कुल खपत भइरहेको बिद्युत ऊर्जाको करिव एक तिहाई छिमेकी राष्ट्रबाट खरिद गरी व्यवस्थापन गर्नुपर्ने अवस्थामा छ।यस प्रकारको ऊर्जामा पर निर्भरताले एकातिर बर्षेनी ठूलो पुँजी विदेशिंदा राज्यले ठूलो व्यापार घाटा सहनु परेको छ भने अर्कोतर्फ सरकारले लिएका विकासका बहुआयामिक लाभ प्राप्तिमा उर्जा संकट एक मुख्य बाधकको रुपमा अगाडि देखिएको छ।

तसर्थ सरकारले उर्जा विकासलाई उच्च प्राथमिकतामा राख्दै आगामी दशकलाई उर्जा दशक को रुपमा घोषणा गरेको छ। सो को कार्यान्वयनका लागि माननीय उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रीज्यूबाट “उर्जा, जलश्रोत तथा सिंचाई क्षेत्रको वर्तमानअवस्था र भावी मार्गचित्र (श्वेतपत्र)” जारी भईसकेको छ।उक्त श्वेतपत्रले उर्जा क्षेत्रमा आगामी तीन वर्ष भित्र ३००० मे.वा., पाँचवर्ष भित्र ५००० मे.वा र दश वर्ष भित्रमा १५००० मे.वा. विद्युत उत्पादन गरी आगामी ५ वर्ष भित्र प्रति व्यक्ति ऊर्जा खपत ७०० युनिट र १० वर्ष भित्र १५०० युनिट पुर्याउने लक्ष्य तय गरेको छ।

माथि उल्लेखित लक्ष्य प्राप्तिको लागि झण्डै थप २० खर्ब नेपाली रुपैयाँ आवश्यक पर्ने देखिन्छ। नेपाल भित्र रहेका विभिन्न बैंक तथा वित्तिय संस्थाहरु र आम जनता सँग रहेको पूँजीको यस क्षेत्रमा तोकिएको लगानीको अधिकतम सीमा सम्म परिचालन भएको अवस्थामा आगामी १० वर्षमा करिब १० खर्व नेपाली रुपैयाँ बराबरको श्रोत स्वदेशी बजारबाट उपलब्ध हुन सक्ने देखिन्छ।बाँकी१० खर्ब नेपाली रुपैयाँ अन्तराष्ट्रिय बजारबाट जुटाउनुगर्नुपर्ने देखिन्छ।

स्वदेशी बजारबाट परिचालन हुन सक्ने पूँजीको ठूलो हिस्सा आम नेपाली जनतासँग छ तर हाल सम्म त्यसको प्रभावकारी परिचालनको लागि उपयुक्त कार्यविधि बन्न सकिरहेको छैन।हालसम्म सर्वसाधारणको सानो हिस्साले मात्र नीजि प्रवर्द्धकहरुको रुपमा यस क्षेत्रमा सहभागिता जनाउँदै आएको छ र यसबाट हुने लाभमा पहुँच पुगेको छ।यस कारणले गर्दा एकातिर सर्वसाधारणसँग रहेको स्वदेशी पूँजी यस क्षेत्रमा परिचालन हुन सकिरहेको छैन भने अर्को तर्फ जनताको ठूलो हिस्साको यस क्षेत्रको विकास र त्यसबाट हुने लाभमा पहुँच नपुग्दा निर्माण भइरहेका आयोजनाहरुमा अपनत्वको भावना कायम हुन नसकी विभिन्न सामाजिक समस्याहरु उत्पन्न भई आयोजनाको कार्यान्वयनमा नकारात्मक प्रभाव परेको देखिन्छ।

नेपाल सरकारको नेतृत्वदायी भूमिकामा सबै सर्वसाधारणलाई जलविद्युतको विकासमा लगानीको अवसर प्रदान गरी राष्ट्र निर्माणको महाअभियानमा सहभागी बनाउँदै उनीहरुसँग भएको पूँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने अवसर प्रदान गर्ने कार्यक्रम अगाडि बढाउन जरुरी देखिन्छ। यहि प्रयोजनको लागि नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी नाराका साथ जनताको जलविद्युत आयोजना कार्यक्रमलाई अभियानको रुपमा आम नेपाली जनता समक्ष पुर्याउने नेपाल सरकारको लक्ष्य रहेको छ। यसले एकातर्फ आम जनतालाई देश निर्माणको अभियानसँग जोड्ने छ भने अर्को तर्फ सबै जनतालाई लगानीको अवसर दिई यस क्षेत्रबाट हुने लाभमा पहुँच पुर्याई आयोजनाहरुको निर्माणमा सर्वसाधारणको अपनत्व विकास भई आयोजना कार्यान्वयनमा सकारात्मक प्रभाव पर्ने देखिन्छ।

यस कायक्रम मार्फत स्वदेश वा विदेशमा रहेका समस्त नेपाली जनतालाई लगानी प्रकृयामा सहभागी गराई राष्ट्रिय महत्वका आकर्षक र नाफामूलक जलविद्युत आयोजनाहरु निर्माण गरी नेपाली जनताको आर्थिक स्तर बढाउने र देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने परिकल्पना गरिएको हुँदा सो परिकल्पनालाई ठोस् रुप दिनको लागि जनताको सहभागिता, पूँजी संकलन, पूँजी परिचालन, लगानी ब्यवस्थापन तथा सूचना प्रवाह आदि कार्यहरुलाई प्रकृयागत रुपमा लैजानको लागि यस अवधारणा पत्र तयार गरिएको छ।